पाल्पा – ऐतिहासिक पाल्पा दरबारमा बुधबारदेखि सङ्ग्राहलय सञ्चालनमा आएको छ । राणाकालमा वि.स. १९९० को दशकमा तत्कालित पाल्पा तैनाथवाला प्रताप शमशेरले पाल्पा दरबारको निर्माण गरेका थिए ।
त्यही दरबार द्वन्द्वकालमा २०६१ माघ १८ गते ध्वस्त भएको थियो । दरबारको पुरानै शैलीमा पुनर्निर्माण गरेपछि प्रदेश स्तरीय सङ्ग्राहलयको रुपमा विकास गर्ने गरी सञ्चालनमा ल्याइएको छ ।
५ नं. प्रदेश सरकारको सङ्ग्राहलय बनाउने योजना अनुसार पाल्पा दरबारमा विभिन्न जातजाति समुदायको ऐतिहासिक बस्तु तथा कला संस्कृतिको प्रतिबिम्ब हुने गरी सङ्ग्राहलय स्थापना गरिएको प्रदेश सभासद् तुलाराम घर्तीमगरले बताउनुभयो ।
सङ्ग्राहलय स्थापनाले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले बताउनुभयो । पाल्पा दरबारमा सङ्ग्राहलय सञ्चालनले पाल्पा र यस क्षेत्रको पर्यटकीय विकासमा महŒवपूर्ण टेवा पुग्ने उहाँले विस्वास गर्नुभयो ।
सङ्ग्राहलयमा अहिलेसम्म मगर समुदायको ऐतिहासिक कला संस्कृति झल्कने कक्ष निर्माण गरिएको छ । यस्तै नेपाल–अङ्ग्रेज युद्धका बेला प्रयोग भएका ऐतिहासिक घरेलु सामग्री ठूलो कराही समेत छन् ।
यस्तै पाल्पा गौडाका बेलामा तैनाथवाला शासकहरूको तस्विर सहित परिचय पनि दरबारभित्र राखिएको छ । अझै यसलाई पश्चिम नेपालकै इतिहास झल्काउने सङ्ग्राहलयको रुपमा स्थापित गर्न काम भईरहेको सङ्ग्राहलयका उपप्रमूख चन्द्रबहादुर वलीले जानकारी दिनुभयो ।