Erani Mahal
आफ्नो  स्वास्थ्य भन्दा बस्तुभाउको चिन्ता छ ग्रामीण भेगका महिलालाई
61131833_300732140875778_3257419049734242304_n

पाल्पा- जिल्लाको निस्दी गाउँपालिका १ बाकामलाङ्ग स्वास्थ्य चौकीमा चलेको निशुल्क स्वास्थ्य शिविरमा परिक्षणका लागि आएका केही महिलामा पाठेघर सम्बन्धी जटिल समस्या देखियो । स्वास्थ्य सेवा लिन आएका २ सय ९० जनामध्ये २ सय २१ जना महिलाले सेवा लिए । महिला रोग सम्बन्धी १ सय १ जनाले उपचार सेवा, परामर्श लिए भने निशुल्क औषधी पाए ।

उनीहरु मध्ये १० जना पाठेघरको अप्रेशन गर्नुुपर्ने विरामी रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका महिला रोग डा. अर्पना क्षेत्री बुढाथोकीले बताउनुभयो । शिविरमा तत्काल अप्रेशन गर्नुपर्ने विरामी पनि भेटिएको छ बुढाथोकीले भन्नुभयो–थोरै बल मात्र गरेपनि पाठेघर खस्ने विरामी पनि भेट्यौं । जटिल समस्या भएका विरामीलाई माथिल्लो संस्थामा उपचारका लागि जान सुझाएकोमा धेरै महिलाले बस्तुभाउ त्यसै छोडेर हिड्न नमिल्ले बताएको डा. बुढाथोकीको भनाई छ । ग्रामीण समुदायमा जीवन भन्दा गाईबस्तुको स्याहार र चिन्ताले धेरैले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था रहेको उहाँको ठम्याई छ ।

भर्खर आमा बनेका देखि पाको उमेरका महिलामा समेत यो समस्या रहेको बताउदै उहाँले उपचारका लागि अन्य स्वास्थ्य संस्थामा जान आग्रह गर्दा गोठभरि बस्तुभाउ भएकाले घाँस काट्ने स्याहार गर्न छोडेर उपचार गर्न जान समय नै नभएको विरामीले आफुसँग बताएको डा.बुढाथोकीले जानकारी दिनुभयो ।

उपचारमा आएका हरेक १० जनामा १ जना महिलालाई पाठेघर खस्ने समस्या हुनु जटिल भएको बाकामलाङ्ग स्वास्थ्य चौकीका प्रमुख अर्जुन भण्डारीले बताउनुभयो । ग्रामीण समुदायमा घरायसी समस्या छ तर जनचेतना दिदादिदै पनि अझ स्वास्थ्य र सरसफाईमा परिवर्तन आउन नसकेको उहाँले बताउनुभयो । जिल्ला सदरमुकामदेखि झण्डै ९० किलोमिटर पुर्व बाकामलाङ्ग जुन निस्दी गाउँपालिकाको अपायक ठाँउ हो त्यहाँ शिविर आयोजना गरिएको हो ।

बाकामलाङ्ग स्वास्थ्य चौकीको आयोजना निस्दी गाउँपालिकाको सहयोग र बास रामपुरको व्यवस्थापनमा दुर्गममा चलेको निशुल्क स्वास्थ्य शिविरमा एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रालिले प्रयोगशाला सहयोग गरेको थियो । झण्डै ५ बर्षको अन्तरालमा बाकामलाङ्गमा निशुल्क स्वास्थ्य शिविर चलेको वडाध्यक्ष पुर्ण बहादुर खाँणले बताउनुभयो ।

राम्रो स्वास्थ्य सेवा पाउनबाट बञ्चित यस क्षेत्रमा बिषयगत आखाँ, दात सम्बन्धी शिविर बिचमा चलेका थिए । गाँउपालिकाको समन्वयमा स्वास्थ्य चौकीमा राखेको स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउदा नागरिकलाई निकै फाइदा पुगेको खाँणले बताउनुभयो ।

सामान्य उपचारका लागि जान नसक्ने र केही समस्या भएपनि भैगो भनेर बस्नेहरुलाई ज्यानको महत्व यस शिविरले दिएको छ उहाँले भन्नुभयो–औषधी समेत दिएपनि निकै राहत पुगेको छ । एकदिन चलेको शिविरबाट १ सय १ जनाले महिला रोग सम्बन्धी सेवा, ७५ जनाले छाला, ३१ जनाले मानसिक रोग, २७ जनाले हाडजोर्नीको सेवा लिएका छन् ।

शिविरमा लुम्बिनी मेडिकल कलेज प्रभासका मनोरोग विशेषज्ञ डा.राजेश श्रेष्ठ, छाला तथा यौनरोग विशेषज्ञ डा.सर्मिला त्रिपाठी, मेडिकल अधिकृतहरु डा.दिवश आचार्य,डा. विवेक पौड्याल, डा.एलिसा श्रेष्ठ, डा.कृशु अधिकारी, डा.अर्पना क्षेत्री बुढाथोकी, डा.प्रियङ्का प्रधानले विरामीको उपचार गर्नुभएको थियो । बास रामपुरका अध्यक्ष अशोक श्रेष्ठले दुरदराजमा चल्ने स्वास्थ्य शिविरले महिला, बुढाबुढी र बालबालिकालाई निकै फाइदा पुगेको बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update