Erani Mahal
तानसेनमा सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया
60335520_335459623813206_3711930235801829376_n

रानीमहल पाल्पा, ३० बैशाख । तानसेन नगरपालिकाका जनप्रतिनिधिका लागि सूचनाको हकसम्बन्धी अन्तरक्रिया आइतबार तानसेनमा भएको छ । नगरपालिकाको आयोजनामा भएको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बास्कोटाले जनताले मागेको सूचना लुकाउनुपर्ने कुनै अवस्था नरहेको भन्दै सूचना दिएर पारदर्शी बन्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो ।


उहाँले जनप्रतिनिधिले राम्रो काम गरेको छु भन्ने लागेको छ भने त्यसलाई लुकाउन नहुने बताउँदै सबै खालका सूचना मिडिया र जनतालाई आफूले गरेको कामको प्रचार गर्न आग्रह गर्नुभयो । जनप्रतिनिधिको काम भनेको जनताको काम गर्ने हो, जनताका काम गर्दा किन डराउने उहाँले भन्नुभयो । नेपालका सबै नागरिकले सूचना पाउने हक रहेको भन्दै प्रमूख आयुक्त बास्कोटाले जनप्रतिनिधिले सूचना दिए मात्र लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्यालले जनताका प्रतिनिधिले पारदर्शी रुपमा काम गर्न र उत्प्रेरणा थप्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो । यस्तै प्रमूख जिल्ला अधिकारी विरेन्द्र यादवले पाल्पामा अधिकांश कार्यालयले सूचनाको हक प्रदान गर्न सोही अनुसारको कार्यालय र कर्मचारीको जिम्मेवारी तोकेको जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा तानसेन नगरपालिकाभित्रका सबै जनप्रतिनिधि र कर्मचारी, नागरिक समाज, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त बास्कोटाले आयोगले प्रकाशन गरेका सूचनाको हकसम्बन्धी जानकारीमुलक पुस्तक तथा ब्रोसर जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, प्रमूख जिल्ला अधिकारी विरेन्द्र यादव, तानसेन नगरपालिकाका उपप्रमूख लक्ष्मीदेवी पाठकलाई हस्तान्तरण गर्नुभयो ।

यस्तै तानसेन नगरपालिकाले प्रकाशन गरेको तानसेन त्रैमासिक बुलेटिन उपप्रमूख पाठकले प्रमुख आयुक्त बास्कोटालाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले स्वागत र अध्यक्षता लक्ष्मीदेवी पाठकले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update