Erani Mahal
'तानसेन मेयर कप'काे उद्घाटन खेलमा  दमकडा क्रिकेट क्लब बिजयी
60088483_2580649648615282_697663754438967296_n

रानीमहल पाल्पा, २७ बैशाख । तानसेन मेयर कप २०७६ को पहिलो दिनको खेलमा दमकडा क्रीकेट क्लब र म्याक्स स्पोर्ट्स क्लब विजयी भएका छन । प्रतियोगिताको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहिले खेलको माध्यमबाट सबै युवा एकजुट भई एकताको सन्देश दिन सक्ने बताउनुभयो ।

नगरप्रमुख शाहिले कुलतमा फँस्न सक्ने युवा उमेरलाई एकत्रीत गरि खेलको माध्यमबाट सकारात्मक बाटोतर्फ डोर्याउने पहल नगरपालिकाले गरेको र त्यसमा दमकडा क्रीकेट क्लबले साथ दिएको बताउनुभयो ।

बिशिष्ठ अतिथी पुर्व राष्ट्रीय खेलाडी शक्ति गौचनले पाल्पा जिल्लामा विगत १२ बर्षदेखी दमकडा क्रीकेट क्लबले क्रीकेट विकासमा महत्वपुर्ण योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो । गौचनले दमकडा क्रीकेट क्लबको साहस र लगनशिलता देशभरीका क्लबहरुले सिको गर्न लायक भएको भन्दै जुनसुकै बेला आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

आयोजक दमकडा क्रीकेट क्लब र बंशगोपाल क्लब बिच भएओ पहिलो खेलमा दमकडा ७९ रनले विजयी भएको छ । टस जितेर पहिले टस जितेर बंशगोपालले दमकडालाई ब्याटिङको निम्तो दियो । दमकडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९६ रनको विशाल योगफल तयार पार्यो । दमकडाका मोहन भुसाल र टंक आलेले समान ३०/३० रन, सागर बस्यालले २८ र अभिषेक पाण्डेयले १७ रन बनाए ।

बंशगोपाललका सबिन गाहाले ३ र मिलन पौडेलले २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रीएको बंशगोपाल १६ ओभरमा सबै विकेट गुमाएर ११७ रनमा समेटियो । बंशगोपालका पवन पाण्डेयले ५० र विजय घिमिरेले १८ रन बनाए । दमकडाका सौगात गौतम, रुपेश सापकोटा र अभिषेक पाण्डेयले समान २/२ विकेट लिए ।

दमकडाका कप्तान मोहन भुसाल प्लेयर अफ दी म्याच घोषित भए । आजै भएको दोश्रो खेलमा म्याक्स स्पोर्ट्सले अल स्टार पिप्लेलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पिप्लेले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर १३२ रन बनायो । पिप्लेका केशब पाण्डेयले १९ तथा जीवन न्यौपाने र आयुष कोईरालाले समान १५/१५ रन बनाए ।

म्याक्सका गोपाल तिमिल्सेनाले ३ विकेट लिए । १३३ लक्ष्य पछ्याउँदै म्याक्स स्पोर्ट्सले १३ ओभर ५ बलमा लक्ष्य भेट्टायो । म्याक्सका कप्तान विजय बौडेलले ५० र नवीन गैरेले २० रनको योगदान दिए । पिप्लेका आयुष कोईराला र बिष्णु भट्टराईले समान २/२ विकेट लिए । २७ बलमा ५० रनको बिष्फोटक पारी खेल्ने कप्तान विजय बौडेल प्लेयर अफ दी म्याच घोषित भए ।

दुवै खेलका प्लेयर अफ दी म्याचले १५/१५ सय रुपैँया प्राप गरेका छन । अाजको पहिलो खेल बिहान ९ बजे पाल्पाली क्रीकेट प्लेयर्स र दिपप्रगती क्लब तथा दोश्रो खेल दिउँसो १ बजे पाल्पाली लेजेण्ड्स र मणिमुकुन्देश्वर क्लब बिच हुँदैछ । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार रुपैँया प्राप्त गर्नेछन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update