Erani Mahal
डेबिट कार्ड र क्रेडिट कार्ड : फाइदा कस्तो ? फरक पक्ष के के ?
cards

रानीमहल। विश्वमा प्रविधिको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ । अझ नेपालमा भन्दा विकसित मुलुकमा प्रविधिको उच्चतम प्रयोग भएको पाईन्छ । नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ । पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने क्रेडिट कार्डको प्रयोग पनि क्रमश बढदै आएको छ ।

डेबिट कार्ड : डेबिट कार्ड भनेको प्लाष्टिक पेमेन्ट कार्ड हो, जसले बैंकको खाताबाललाई आफ्नो खातामा इलेक्ट्रोनिक पहुँच उपलब्ध गराउँदछ । उक्त कार्डबाट खाताबालले आफ्नो खातामा भएको रकमबाट रकम निकाल्ने तथा खरिदमा भुक्तानी गर्न सक्दछ । अहिले बिभिन्न देशहरूमा यस्तो कार्डको प्रयोग बढ्दो रुपमा छ, जसले चेकको प्रयोगलाई प्रतिस्थापन समेत गरेको पाईन्छ ।

बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भनिन्छ ।

कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेट मार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा लामो समयसम्म लाइनलमा बस्नुपर्ने लगायतका समस्याबाट मुक्त गराउँछ ।

क्रेडिट कार्ड : क्रेडिट कार्ड पनि बैंकले उपलब्ध गराउने प्लाष्टिक पेमेन्ट कार्ड हो, जसबाट खातावालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ । यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्दछ भने बैंकले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ ।

क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हुन्छ ।

कुनैपनि व्यक्तिले भविश्यमा तिर्न सक्ने क्षमतामा राख्छ भन्नेमा विश्वास गरेपछि बैंकले क्रेडिट कार्ड जारी गर्न सक्छ । यो एक प्रकारको बिना धितो बैंकले दिने र ग्राहकले निश्चित समयका लागि उधारोमा खर्च गर्न सक्ने रकम हो ।

क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम मात्रामा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । नेपालमा यस्तो प्रणालीको विकास क्रमशः भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update