Erani Mahal
अम्लिहान तिनाउँ खोलाको पुल ८० प्रतिशत निर्माण सम्पन्न
59815165_2414822212137791_5414526546918506496_n

वर्षात अघि नै पुलबाट गाडि गुड्ने

रानीमहल पाल्पा, २६ बैशाख । पुल नहुँदा वर्षात्को समयमा गाडि नै बगाउने गरेको तानसेन नगरपालिका ८ र माथागढी गाउँपालिका ३ को सीमामा पर्ने अम्लिहान तिनाउँ खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।


यहाँ स्थित तिनाउँ खोलामा मोटरेवल पुल नहुँदा वर्षात्को समयमा सयौं यात्रुहरुले सास्ती खेप्दै आउनु परेको थियो । अहिले एक वर्षयता यहाँको पुलको कामले तीव्रता लिएपछि अब भने खोलामा बगेर ज्यान गुमाउन पर्ने अवस्था नआउने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।


यस क्षेत्रका संघीय सांसद सोम प्रसाद पाण्डेको अनवरत प्रयास, निर्वाचन क्षेत्र नं. १ का सांसद दलबहादुर राना, प्रदेश सांसद नारायण प्रसाद आचार्य, तुलाराम घर्तीको समेत ताकेतामा यहाँको पुल निर्माणको काम दु्रत गतिमा अगाडि बढेको हो ।


जिल्ला प्राविधिक कार्यालयले २०७६ असार २३ गतेभित्र काम सम्पन्न गर्ने गरी ६ करोड बरावरको लागतमा रसुवा कन्स्ट्रक्सन जेभीलाई ठेक्कामा लगाएको थियो । स्थानीय जनताको निगरानी, सांसदहरुको निरन्तर खबरदारीको कारण निर्धारित समय भन्दा एक महिना अगावै नै पुल निर्माण सम्पन्न हुन लागेको हो ।


जिल्ला प्राविधिक कार्यालयका प्राविधिक प्रेम बस्यालका अनुसार पुलको विम ढलान लगायतका ८० प्रतिशत काम सकिएको छ, बाँकी २० प्रतिशत काम अब १५÷२० दिनभित्र सकिने र पुल हस्तान्तरण गर्न मिल्ने अवस्था आउने छ ।


माथागढी गाउँपालिका र तानसेन नगरपालिकाको प्रवेशद्वारका रुपमा रहेको तिनाउँ खोलामा पुल नहुँदा हजारौं यात्रुहरु वर्षात्मा विचल्लीमा पर्ने गरेका थिए, अनुगमन तथा निगरानी समितिका सदस्य राजकुमार पन्थीले भन्नुभयो, अब भने वर्षातमा समेत ढुक्कले यात्रा गर्न पाइने भएको छ ।


जिल्लाका धेरै आयोजनाहरु निर्माण सम्पन्न गर्नुपर्ने समय भन्दा धेरै म्याद थपेर समेत सम्पन्न नभएको अवस्थामा यो पुल आयोजना निर्धारित समय भन्दा पहिले नै सकिएर उदारणीय कार्य गरेको छ, स्थानीय निगरानी समूहका सदस्य तेज घर्तीले भन्नुभयो, यस्तै समयमै विकास निर्माणका काम भएमा देश विकासमा समेत सहयोग पुग्नेछ ।


निर्माण व्यवसायी अनिल सिलवालले आफूले उच्च प्राथमिकता दिएर दिन रात कामदार परिचालन गरेर निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाँले आयोजनाहरुका लागि समयमा बजेट, सुपरिवेक्षण र काम भएमा निर्धारित समयमै सम्पन्न गर्न सकिने बताउनुभयो ।

तस्वीर राजेश कुमार अर्यालबाट

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update