Erani Mahal
बाेर्डिङ् स्कुल गुल्मी जिल्लामा पनि गाँभिए
gulmi-1
रानीमहल गुल्मी, ६ बैशाख । याे वर्ष गुल्मीकाे दरबार गाउँपालिकामा पनि दुई वटा बाेर्डिङ् स्कुल सरकारी विद्यालयमा गाभिएका छन् । शैक्षिक गुणस्तर सुधारको लागि वडाभित्रका जनप्रतिनिधिहरुको समन्वयमा दुईवटा बाेर्डिङ् स्कुल सरकारी विद्यालयमा गाभिएका हुन् । संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा गाभिनेहरुमा गुल्मी दरबार गाउँपालिका–५ अन्तर्गत रहेको गौरीशंकर इङ्लिस बोर्डिङ्ग स्कुल र ७ नम्बर वडामा रहेको रेसुंगा इङ्लिस बोर्डिङ्ग स्कुल रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो । दुईवटै विद्यालयका प्रधानाध्यापकहरु र व्यवस्थापन पक्षको संयुक्त प्रयासबाट शैक्षिक गुणस्तर सुधारमा प्रतिबद्ध भई अघि बढ्ने निर्णय गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक र भौतिक संरचनाहरु सामुदायिक विद्यालयको स्वामित्वमा रहने गरी विद्यालयहरु गाभिएको शिक्षा अधिकृत भण्डारीले बताउनुभयो । संस्थागत विद्यालयहरु मध्ये गौरीशंकर इङ्लिस बोर्डिङ्ग स्कुल ईश्वरी माध्यमिक विद्यालयमा र रेसुंगा इङ्लिस बोर्डिङ्ग स्कुल ठूलापोखरा आधारभुत विद्यालयमा गाभिएका हुन् । रेसुंगा इङ्लिस बोर्डिङ्ग स्कुलमा अहिले ७ सय विद्यार्थी र ३० जना शिक्षकहरु रहेका छन् भने गौरी शंकर इङ्लिस बोर्डिङ्ग स्कुलमा ३ सय भन्दा बढी विद्यार्थी र २५ जना शिक्षकहरु रहेका छन् । नेपालको शैक्षिक इतिहासमा स्थानीय तहहरुमध्ये गुल्मी जिल्लामा रहेको गुल्मी दरबार गाउँपालिकाले गरेको यो अभ्यास अनुकरणीय र नेपालकै लागि नौलो अभ्यास भएको शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डेले बताउनु भएको छ । गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालयहरुले गरेको यो प्रयासलाई स्वागतयोग्य भन्दै यस्ता सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयाे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update